आज देशैभरको मौसम आंशिकदेखि सामान्य बदली रहि केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ, ३० असोज – आज देखि देशैभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले भोली देशका धेरै ठाउँमा पानी पर्ने सम्भावनासमेत रहेको जानकारी दिएको छ।

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र नेपालमा विकसित हुँदै गरेको पश्चिमी वायुको संयुक्त प्रभावले देशैभरीको मौसम आंशिकदेखि सामान्य बदली भएको महाशाखाकी मौसमविद् शान्ती कडेलले जानकारी दिइन्।

आगामी २४ घण्टामा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। ‘आइतबार देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केहि स्थानमा मेघ गर्जन, चट्यांगसहित हावाहुरी र भारी वर्षाकोसमेत संभावना छ,’ विभागले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ, ‘देशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको पनि संभावना छ।’

वर्षाको सम्भावना रहेकाले यो समयमा खेतीपाती गर्दा र यात्रा गर्दा विशेष सावधानी अपनाउन पनि विभागले आग्रह गरेको छ। साथै दसैँ मान्न गाउँघर गएकाहरुलाई सडकको अवस्था बुझेर मात्र कार्यस्थलमा फर्किन पनि मौसमविद्ले सुझाब दिएका छन्।

Facebook Comments Box