फुमिदो किसिदा जापानको प्रधानमन्त्री बन्ने
जापान, १३ असोज – फुमिदो किसिदा जापानको प्रधानमन्त्री बन्ने भएका छन्। लिबरल डेमोक्रेटिक पार्टीको नेता चुनिएपछि उनी प्रधानमन्त्री बन्ने बाटो खुलेको हो।
पूर्व विदेशमन्त्री किसिदाले लोकप्रिय मानिएका तारो कोनोलाई पराजित गरे। प्रधानमन्त्री योसिहिदे सुगाले एक वर्षमै पदत्याग गर्ने निर्णय गरेका थिए। महामारी नियन्त्रण, ओलम्पिक आयोजनाजस्ता कारणले अलोकप्रियता चुलिँदै गएपछि सुगा पछि हटेका हुन्। किसिदाले उनको ठाउँ लिनेछन्।
प्रधानमन्त्रीका रुपमा किसिदाको पहिलो जिम्मेवारी पार्टीलाई आउँदो आम निर्वाचन जिताउनु हुनेछ। संसदमा पार्टीको बहुमत भएकाले उनको कुर्सी बलियो छ। ६४ वर्षीय किसिदाले लामो समयदेखि प्रधानमन्त्री बन्ने कसरत गरिरहेका थिए। गतवर्ष दलको नेतामा उनी सुगासँग पराजित भएका थिए।
‘मेरो सीप भनेको मानिसहरुको कुरा सुन्नु हो,’ जितपछि उनले भने, ‘खुला पार्टी र जापानको सुनौलो भविष्यका लागि म सबैसँग मिलेर कामगर्न प्रतिबद्ध छु।’ अक्टोबर ४ मा संसदको विशेष अधिवेशन सुरु भएपछि किसिदा जापानको एक सयौँ प्रधानमन्त्री बन्ने छन्।

