प्रदेश सरकारलाई बद्नाम गर्ने षड्यन्त्र भयो : मुख्यमन्त्री लालबाबु राउत
जनकपुरधाम, १३ असोज – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफू र प्रदेश सरकारलाई बद्नाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको बताएका छन् । यसबारे आफूले अख्तियार प्रमुख प्रेमकुमार राईसँग टेलिफोनमा कुराकानी समेत गरेको उनले बताए ।
बुधबार बेटी बचाऊ, बेटी पढाऊ अभियान अन्तर्गत प्रदेश सरकारले खरिद गरेको साइकलमा अनियमितता भएको खबर सार्वजनिक भएको थियो । त्यसको केहीघण्टामा नै अख्तियारको केन्द्रीय कार्यालय र बर्दिबासस्थित कार्यालयको टोलीले जनकपुरस्थित मुख्यमन्त्री कार्यालयमा पुगेर छापा मारेको थियो ।
अनियमितताको समाचार भ्रमक भएको दाबी गर्दै मुख्यमन्त्री राउतले भने, ‘त्यसको २/४ घण्टा वित्न नपाउँदै अख्तियारको टोली छापामारको शैलीमा आउँछ, मानौं कि प्रमाणहरु लोप भइरहेको छ, कसैले नाश गर्न लागेको छ । त्यो शैलीमा आएर छापा मार्छ र तरुन्तै मिडियामा आउँछ ।’
यसबारे आफूले अख्तियार प्रमुख राईसँग टेलिफोनमा कुराकानी गरेको उनले सुनाए । अख्तियारको शैलीप्रति आफूले आपत्ति जनाएको र राईले पनि कमजोरी स्वीकार गरेको भन्दै प्रदेश २ का मुख्यमन्त्री राउतले भने, ‘यो प्रदेश सरकार र मुख्यमन्त्रीलाई बद्नाम गर्ने षड्यन्त्र हो ।’
प्रदेश सरकार आफैंले जनलोकपाल आयोग गठन गरेको भन्दै मुख्यमन्त्री राउतले अख्तियारले छापा मारेर प्रमाण मात्र लोप गरेको आरोप लगाए ।
प्रदेश २ सरकारले छोरीहरूलाई विद्यालय पठाउने अभियान चलाउन भन्दै ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम चलाइरहेको छ। त्यस कार्यक्रमबाट बालिकाहरूलाई वितरण गर्न टेण्डर नै नगरी साइकल किनिएको थियो। साइकल खरिद र वितरणका क्रममा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको हो।
अख्तियारको केन्द्रीय कार्यालयबाट पुगेको टोलीले बर्दिबासस्थित कार्यालयको समन्वयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो। प्रदेश २ सरकारले २०७५ मंसिरदेखि ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान थालेको हो। त्यस अभियानका नाममा सुरुबाटै करोडौँ भ्रष्टाचार भइरहेको उजुरी अख्तियारमा परेको थियो। अख्तियारले पनि सुरुवाती छानबिनमा हिनामिना भएको भेटिएको जनाएको छ।
गत चैतमा वीरगन्जको ओम सत्यसाई प्रालि मार्फत खरिद गरिएको १७ हजार २६२ साइकलमा बिना उत्पादक कम्पनीको नाम, मोडल र ब्रान्डको खरिद प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियारले बुधवार छापा मारेको हो।

