राष्ट्र बैँकले यस वर्ष दसैँको लागि आगामी असोज ४ गतेदेखि नयाँ नोट वितरण गर्ने

काठमाडौँ, २९ भदौ – राष्ट्र बैँकले यस वर्ष दसैँको लागि आगामी असोज ४ गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ। कोरोना संक्रमणको कारण गतवर्ष नयाँ नोट नबाँडेको राष्ट्र बैँकले यस वर्ष समयमै सर्वसाधारणलाई नयाँ नोट वितरण गर्न लागेको हो।

असोज ४ देखि काठमाडौंमा केन्द्रीय कार्यालय बालुवाटार र हरेक प्रदेश कार्यालयमार्फत सर्वसाधारणलाई नयाँ नोट वितरण गरिने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए।

राष्ट्र बैंकले हरेक वर्ष दसैँको बेला सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको छ। दसैँको टीका लगाउँदा दिइने दक्षिणामा नयाँ नोट प्रयोाग गर्ने चलन छ। राष्ट्र बैँकले असोज ४ गतेदेखि नै दसैँ लागि नयाँ नोट बाँडे पनि अन्य बैंक र वित्तीय संस्थाले भने दसैंको १५ दिनअघिबाट मात्र वितरण गर्ने छन्।

राष्ट्र बैँकले सर्वसाधारणलाई प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिने तयारी गरेको छ। ५, १०, २०, ५० र एक रुपैयाँको बण्डल नयाँ नोटको रुपमा लिइने छ।

दसैँमा वितरणको लागि राष्ट्र बैँकले बैंक तथा वित्तीय संस्थालाई २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट दिएको छ। आइतबारसम्म बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैँकबाट ३ अर्ब ६० करोड रुपैयाँ लगिसकेका छन्।

Facebook Comments Box