सिन्धुपाल्चोकको मेलम्चीमा गए रातिदेखि आएको बाढीले धेरै भौतिक संरचनामा क्षति

सिन्धुपाल्चोक, १७ साउन – सिन्धुपाल्चोकको मेलम्चीमा गए रातिदेखि आएको बाढीले धेरै भौतिक संरचनामा क्षति गरेको छ। शनिबार राति करिब साढे ९ बजेदेखि मेलम्चीमा एक्कासि ठूलो बाढी आएको हो। बाढी अझै बढिरहेको स्थानीय प्रशासनले जनाएको छ। बाढीले अहिलेसम्म नदी तटीय क्षेत्रका १५ वटा घर, दुईवटा पुल बगाएको जानकारी प्राप्त भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए। पानी नपरेको अवस्थामा एक्कासी ठूलो बाढी आउँदा स्थानीयबासी अचम्ममा परेका छन्।

‘बाढी गएको असार १ गतेको भन्दा पनि ठूलो छ,’ एसपी अधिकारीले भने, ‘बाढीले धेरै भौतिक संरचनामा क्षति गरेको छ। सबै विवरण प्राप्त भइसकेको छैन। बाढी अझै बढिरहेको छ।’ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले गएराति नै तटीय क्षेत्रका बासिन्दालाई बाढीबाट बच्न सतर्कता अपनाउन भन्दै सूचना गरेको थियो।

हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएर नदी थुनिएपछि एक्कासि ठूलो बाढी आएको प्रारम्भिक अनुमान गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए। ‘हेलम्बु चनौटेको रातो पुल बाढीले बगाएको छ,’ पोखरेलले भने, ‘अरु केही झोलुंगे पुल र घरहरु पनि बाढीले बगाएको छ। बाढी निकै ठूलो छ। यसअघिको बाढी पसेका मेलम्ची बजारका धेरै घर बाढीमा डुबेका छन्। त्यहाँ मानिस नबसकेका कारण मानवीय क्षति हुन पाएको छैन।’

असार १ गतेको बाढीपछि मेलम्चीमा सानाठूला बाढी आइरहेका पोखरेलले बताए। ‘सिन्धुपाल्चोकमा हिजो पनि ठूलो पानी परेको थिएन, आज पनि परेको छैन,’ प्रजिअ पोखरेलले भने, ‘तर, एक्कासी ठूलो बाढी आउँदा हामी पनि अचम्ममा परेका छौँ।’ उनले हिमाली क्षेत्रमा हिमताल फुटेर वा पहिरोले थुनिएको नदी एक्कासी खोलिँदा ठूलो बाढी आएको हुनसक्ने बताए। ‘के कारणले यति ठूलो बाढी आयो, अहिले अनुमान मात्रै गर्न सकिन्छ, यथार्थ पछि खुल्दै जाला,’ पोखरेलले भने। बाढीले हलम्बु गाउँपालिकाको चनौटे, ग्यालचुन लगाएका बस्तीमा धेरै क्षति गरेको उनले बताए।

यसअघि गएको असार १ गते मेलम्ची र हेलम्बुमा बाढी पहिरो जाँदा ठूलो जनधनको क्षति भएको थियो। मेलम्चीको बाढीमा हराइरहेका २० जना अझै फेला परेका छैनन्। शनिबार साँझ आएको बाढी पनि यसअघि बगेको मेलम्चीस्थित चनौटे बजारको बीच भागबाट बगिरहेको छ।

Facebook Comments Box