आज देखि ३ दिन सम्म देशभर मेघगर्जन/चट्याङसहित व्यापक वर्षा हुने सम्भावना

काठमाडौँ, २ साउन – आज देखि ३ दिन सम्म देशभर व्यापक वर्षा हुने सम्भावना देखिएकाले विशेष सजगता अपनाउन मौसमविद्ले सबैलाई सुझाव दिएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार शुक्रबार रातिदेखि नै वर्षाको मात्रा बढिसकेको छ, कतिपय स्थानमा धेरै ठूलो वर्षा समेत भएको छ।

‘गण्डकी प्रदेशका कास्की, स्याङ्जातिर राति अति भारी वर्षा भएको छ, ती क्षेत्रका नदीनालामा जलसतह पनि बढेको छ,’ मौसमविद् बासीले भनिन्, ‘लुम्बिनी र प्रदेश १ मा वर्षा बढिरहेको छ।’ उनका अनुसार आज काठमाडौं उपत्यकामा पनि दिनभरजसो वर्षा हुने सम्भावना छ। भारी वर्षाको समेत सम्भावना रहेको उनले बताइन्।

‘नर्मल वर्षाचाहिँ ९० प्रतिशत सम्भावना छ भने भारी वर्षाको ५० प्रतिशत सम्भावना देखिएको छ,’ उनले भनिन्। मौसमविद् बासीका अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल (तराई) नजिकै आएर बसेको छ। जसका कारण २/३ दिन वर्षाको मात्रा बढ्ने देखिएको हो।

‘हामीले यसअघि नै विशेष मनसुन बुलेटिन जारी गरेर जानकारी दिइसकेका छौं,’ मौसमविद् बासीले भनिन्, ‘आगामी २/३ दिन वर्षाको मात्रा निकै बढ्ने देखिएको छ।’

मामैस पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमानअनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यस क्रममा सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ र १ का थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।

यस्तै राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ। यस क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ का थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

Facebook Comments Box