सकारात्मक समाचारले मनोबल उच्च हुन्छ : अध्यक्ष विपुल पोखरेल
काठमाडौँ, १३ जेठ – नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले कोरोना सङ्क्रमणका समयमा सकारात्मक समाचारलाई उच्च प्राथमिकता दिन सञ्चारकर्मीसँग आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो “महामारीको समयमा सकारात्मक समाचारले नागरिकको मनोवल उच्च बनाउन सहयोग गर्छ । ” महासङ्घ वाग्मती प्रदेश समितिले आज यहाँ आयोजना गरेको ‘वर्तमान अवस्थामा पत्रकार आचारसंहिताको पालना र सञ्चारकर्मीको भूमिका’ विषयक भर्चुअल अन्तरक्रियामा उहाँले कोरोना कहरका बीच सञ्चारकर्मीले निर्वाह गर्नुभएको भूमिका अहं छ भन्नुभयो ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका क्षेत्रमा भएका काम नागरिकलाई जानकारी गराउँदै पत्रकार आचारसंहितको पूर्ण पालना गर्नमा सम्पूर्ण पत्रकार लाग्नुपर्ने बताउनुभयो । महासङ्घका महासचिव रोशन पुरीले कोरोना सङ्क्रमणका कारण समस्यामा परेका सञ्चारकर्मीको उपचार र राहतमा महासङ्घले सहयोग गर्ने जानकारी दिनुभयो ।
महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष शिव देवकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य रमेश खतिवडा, सुनिल खड्का, वाग्मती प्रदेश समितिका संस्थापक अध्यक्ष प्रताप बिष्ट, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला पाण्डेलगायतले कोरोना सङ्क्रमणका कारण समस्यामा परेका सञ्चारकर्मीको उपचारमा राज्यले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो ।

