नेपालमा कोरोना जोखिम किशोरकिशोरी तथा बालबालिकामा रहेको मन्त्रालयको भनाई

काठमाडौँ, १ वैशाख – गएको २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये ५२ जना १७ वर्षमुनिका किशोरकिशोरी तथा बालबालिका रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै (हिजो) ४८ जना १९ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यो तथ्याङ्कले नेपालमा कोरोना जोखिम अत्यन्तै संवेदनशील अवस्थामा पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण पौडेलले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डाक्टर पौडेलले कम उमेरमा सङ्क्रमण पुष्टि र अस्पताल भर्ना हुने दर दुवै बढेकोले हाम्रो स्वास्थ्य प्रणालीले धान्नै नसक्ने अवस्थामा पुग्न सक्ने भन्ने चिन्ता बढेको बताउनुभयो ।

कान्ति बाल अस्पतालका निर्देशक प्राध्यापक डाक्टर आरपी बिच्छाले अस्पताल भर्ना हुनेमध्ये १० देखि १८ प्रतिशत सङ्क्रमित बालबालिका रहेको भन्दै यसले चिन्तित बनाएको बताउनुभयो ।  यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेलले अस्पताल भर्ना हुनेहरूमा ५० प्रतिशतभन्दा धेरै ५० वर्षमुनिका रहेका भन्दै यसअघिको अवस्था भन्दा फरक रहेको र बढी जटिल अवस्थाको सङ्केत रहेको बताउनुभयो ।

नेपालमा पछिल्लो समयमा फैलिएको कोरोना भाइरस बेलायत र भारतमा देखिएका नयाँ ’भेरिएन्ट’ पनि रहेको भदै निर्देशक पौडेलले यी भेरिएन्टहरूको सङ्क्रमण र मृत्युदर दुवै उच्च रहेको बताउनुभयो । नयाँ भेरिएन्टले कम उमेर समूहकालाई समेत गम्भीर अवस्थामा पुर्‍याउने भएकोले बच्नका लागि थप सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो । अहिले विद्यालय र सार्वजनिक यातायातमा बढी जोखिम देखिएकाले ती ठाउँमा बढी सावधानी अपनाउन पनि डा. पौडेलले बताउनुभयो ।

Facebook Comments Box