उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वायु प्रदूषण आज पनि कायमै
काठमाडौँ, १५ चैत – आज पनि काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, सिमरा, हेटौँडासहितका क्षेत्रको वायु मानव स्वास्थ्यका लागि घातक अवस्थामा छ ।
विश्वका प्रदूषित शहरको सूचिमा हाल दोस्रो स्थानमा रहेको काठमाडौको वायुको गुणस्तर सुचांक (एक्यूआई) ३६८ छ ।
आइ.क्यू.एअरका अनुसार एक्यूआई ३९१ रहेको चीन, विश्वका प्रदूषित शहरको सूचिमा शीर्ष स्थानमा छ ।
यस्तै वातावरण विभाग अन्तर्गतको वायु प्रदूषण मापन केन्द्रका अनुसार पनि काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा वायुको गुणतस्तर निकै कम रहेको छ।
विभागका अनुसार सिमराको एक्यूआई ३८५, भैँसेपाटीको ३१६ तथा भक्तपुरको २७१ रहेको छ ।
अहिले नेपालमा सबैभन्दा धेरै प्रदूषण सौराहामा देखिएको छ ।
सौराहाको अहिलेको एक्यूआई ३६० मापन गरिएको छ । २ सयभन्दा धेरैलाई हानिकारक र ३ सयभन्दा धेरैलाई उच्च हानिकारकको रुपमा लिने गरिन्छ ।
भोलिसम्म प्रदूषणको अवस्था हिजोको जस्तै अवस्थामा रहने र पर्सिदेखि भने केही सुधारको सम्भावना रहेको विज्ञहरुले बताएका छन् ।
यस्तै, तत्कालै पानी पर्ने र वायु प्रदूषण कम गर्ने खालको मौसमी प्रणाली नदेखिएकाले सतर्कता अपनाउन मौसमविदले पनि आग्रह गरेका छन् ।
यसैबीच, देशका पहाडी क्षेत्रको मौसम आज आंशिक बदली रहे पनि अरु क्षेत्रमा भने सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले केही क्षेत्रको मौसम आंशिक बदली हुने भएको हो ।
आज अपराहन्न पश्चात देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अरु ठाउँको मौसम भने सफा रहने मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो।
यस्तै आज राति पनि प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्टयाङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।