सरकारले परीक्षा स्थगित गरेपनि त्रिभुवन विश्वविद्यालयले भने आफ्ना परीक्षा नियमित रुपमा सञ्चालन गर्ने

काठमाडौं, २५ साउन – यहि साउन ३१ गतेदेखि सञ्चालन हुने भनिएको कक्षा १२ को परीक्षा सरकारले स्थगित गरेपनि त्रिभुवन विश्वविद्यालयले भने आफ्ना परीक्षा नियमित रुपमा सञ्चालन गरिरहेको छ।

आगामी भदौ ५ गतेसम्म घोषित परीक्षा तालिकामा अब कुनै फेरबदल नहुने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। ५ भदौपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने उनले बताए।

‘कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहमतिमै विश्वविद्यालयले भदौ ५ गतेसम्मको परीक्षा तोकिएको तालिका अनुसार नै सञ्चालन गर्ने निर्णय गरेको छ,’ जोशीले भने। कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयको सिफारिसमा राष्ट्रिय परीक्षा बोर्डले दुई दिनअघि कक्षा १२ को परीक्षा स्थगित गरेको थियो।

त्रिविमा हाल मानविकीतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा सञ्चालन भइरहेको छ। यही साउन २८ गतेसम्म परीक्षा सञ्चालन हुने तालिका छ। त्यसैगरी स्नातकोत्तर तहका विभिन्न सङ्कायका सेमेस्टर प्रणालीअन्तर्गतका परीक्षा पनि सञ्चालन भइरहेका छन्। विज्ञान र शिक्षा शास्त्र सङ्कायको परीक्षा भने यसअघि नै सञ्चालन भइसकेको छ। व्यवस्थापन सङ्कायतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा पनि सञ्चालन भइसकेको छ।

Facebook Comments Box