नागरिकता नहुँदा तीन पुस्ता नै पहिचानविहीन, शिक्षा र रोजगारीबाट वञ्चित

काठमाडौँ । नागरिकता नहुँदा नेपालमै जन्मिएका कतिपय नागरिक तीन पुस्तासम्म पहिचानविहीन हुनुपर्ने अवस्था देखिएको छ। नागरिकताको अभावमा शिक्षा, रोजगारी, बैंकिङ सेवा र राज्यबाट प्राप्त हुने सुविधासमेतबाट उनीहरू वञ्चित भइरहेका छन्। यसको उदाहरण हुनुहुन्छ, पम्फा दर्जी। नेपालमै जन्मिनुभएकी पम्फाले विवाह गर्दा श्रीमान्को थातथलोबारे सोधखोज गर्नुभएन।

श्रीमान्को मृत्युपछि नागरिकता बनाउने प्रयास गर्दा उहाँले अनेक कठिनाइ भोग्नुपर्‍यो। अहिले उहाँका छोराछोरी र नातिनातिनासमेत नागरिकता तथा जन्मदर्ताबाट वञ्चित छन्। २०२५ सालमा जन्मिनुभएकी पम्फाका श्रीमान्को मृत्यु भएको दुई दशकभन्दा बढी भइसकेको छ। माइतीबाट नागरिकता बनाउने प्रयास गर्दा श्रीमान्कै थातथलोबाट बनाउनुपर्ने भन्दै फर्काइएको उहाँको गुनासो छ।

श्रीमान्को घरठेगाना नै थाहा नभएपछि उहाँको परिवार नागरिकताको अधिकारबाट वञ्चित भएको हो। नागरिकता नहुँदा छोराहरूले रोजगारी, शिक्षा र बैंक खाता खोल्नसमेत पाएका छैनन्। नातिनातिनाको जन्मदर्ता नहुँदा विद्यालय जानसमेत समस्या भएको पम्फाले बताउनुभएको छ।

त्यस्तै, सडक बालबालिकाका रूपमा हुर्किएका सञ्जय राई र अञ्जु गुरु पनि नागरिकताविहीन हुनुहुन्छ। आफन्त तथा अभिभावकको पहिचान खुल्न नसक्दा उनीहरूले नागरिकता बनाउन सकेका छैनन्। तेक्वान्दो खेलाडीसमेत रहनुभएका सञ्जयलाई नागरिकता नहुँदा प्रशिक्षण दिएबापतको पारिश्रमिक लिन र बैंक खाता सञ्चालन गर्न समस्या भएको छ।

साथसाथ संस्थाले गरेको सर्वेक्षणअनुसार १५० जना सडक बालबालिकामध्ये ९३ प्रतिशतलाई जन्मदर्ताबारे जानकारी छैन। त्यस्तै, ६५ प्रतिशतका अभिभावकसँग आवश्यक कागजात नभएको र ३५ प्रतिशतको समस्या बाबुको पहिचान नखुल्ने, बेपत्ता हुने तथा वैवाहिक अवस्थासँग सम्बन्धित रहेको पाइएको छ।

सर्वेक्षणमा ४५ प्रतिशत बालबालिकासँग कुनै पनि परिचयपत्र वा कागजात नभएको उल्लेख छ। यसका कारण उनीहरू औपचारिक रोजगारी र सरकारी सेवासुविधाबाट समेत वञ्चित भइरहेका छन्। यस विषयमा कानुन, न्याय तथा मानव अधिकार समितिका सांसद मधुसूदन चौलागाईंले नागरिकता मौलिक अधिकार भएकाले कुनै पनि नागरिक यसबाट वञ्चित हुन नहुने बताउनुभएको छ।

अभिभावकको पहिचान नखुलेको वा कागजात प्रमाणित हुन नसकेको अवस्थामा सहज जीवनयापनका लागि अस्थायी परिचयपत्रको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ। यस्तै, साथसाथ संस्थाकी स्रोत कार्यकारी कविता शाहले नागरिकता तथा जन्मदर्तासम्बन्धी कानुनी व्यवस्था भए पनि व्यावहारिक कार्यान्वयन जटिल हुँदा धेरै नागरिक पहिचानविहीन बन्नुपरेको बताउनुभएको छ। कानुनी प्रक्रिया सहज बनाउँदै नागरिकता र जन्मदर्ताबाट वञ्चित नागरिकलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

Facebook Comments Box