मुन्दुम पदमार्गमा पर्यटकको चहलपहल बढ्दै, दैनिक दुई सयसम्म पदयात्री

भोजपुर । पूर्वी पहाडको आकर्षक पर्यटकीय गन्तव्य मुन्दुम पदमार्गमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ। पदयात्राका लागि अनुकूल मौसम र प्राकृतिक सौन्दर्यको अवलोकन गर्न उपयुक्त समय भएकाले पदमार्ग क्षेत्रमा पर्यटकको चहलपहल बढेको हो।

पर्यटकको आगमन बढेसँगै पदमार्ग आसपासका होटल तथा पर्यटन व्यवसायसमेत फस्टाउन थालेका छन्। स्थानीय होटल व्यवसायी नवराज काङमाङका अनुसार चखेवा क्षेत्रबाट मात्रै दैनिक औसतमा एक सय ५० देखि दुई सय जनासम्म पर्यटक पदयात्रामा निस्कने गरेका छन्। यस क्षेत्रमा रहेका १६ वटा होटलसमेत पर्यटकले भरिभराउ हुने गरेका छन्।

पर्यटकको चहलपहलले होटल व्यवसायसँगै स्थानीय कृषि उपज तथा घरेलु उत्पादनको बिक्रीवितरणमा समेत सकारात्मक प्रभाव पारेको व्यवसायीको भनाइ छ। टेम्केमैयुङ गाउँपालिकाले पनि मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। गाउँपालिका अध्यक्ष सरोज बस्नेतले पदमार्गको संरक्षण, प्रचारप्रसार, पूर्वाधार निर्माण र पर्यटकमैत्री सेवा विस्तारलाई प्राथमिकता दिइएको बताउनुभएको छ।

प्राकृतिक, सांस्कृतिक तथा धार्मिक महत्व बोकेको मुन्दुम पदमार्गमा तावाभञ्ज्याङ, चखेवा, टेम्केडाँडा, मैयुङडाँडा, साल्पा पोखरी र सिलिचुङ चुचुरो प्रमुख आकर्षणका रूपमा रहेका छन्। यस पदमार्गबाट पूर्वी पहाडका रमणीय डाँडाकाँडा, हरियाली वनजङ्गल, गुराँस क्षेत्र तथा विभिन्न हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ। किरात सभ्यता, संस्कृति र मुन्दुम परम्परासँग जोडिएका विशेषताले पनि यस क्षेत्रको पर्यटकीय महत्व बढाएको छ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले पर्यटन प्रवर्द्धनमार्फत स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना र नागरिकको आयआर्जन बढाउन सकिने बताउनुभएको छ। पर्यटकको सहज र सुरक्षित यात्राका लागि पदमार्ग क्षेत्रमा खानेपानी, शौचालय, विश्रामस्थल, सूचना पाटी तथा पदमार्ग मर्मतसम्भारका कामसमेत भइरहेको गाउँपालिकाले जनाएको छ।

Facebook Comments Box