पर्यटन र जलवायु संरक्षणको नयाँ गन्तव्य बन्दै अपी हिमाल
बझाङ । प्राकृतिक सौन्दर्य, हिमाली संस्कृति र जैविक विविधताले भरिपूर्ण दार्चुलाको अपी हिमाल क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तयारी गरिएको छ। सुदूरपश्चिमको सात हजार १३२ मिटर अग्लो अपी हिमालसहित नाम्पा, कापुचुली र बबई हिमालले घेरिएको यस क्षेत्रमा विशाल पाटन, सुन्दर ताल, हिमनदी र दुर्लभ वनस्पति पर्यटकका मुख्य आकर्षण हुन्।
समुद्री सतहबाट तीन हजार नौ सय मिटर उचाइमा रहेको आधार शिविर पुग्न मार्मा गाउँपालिका हुँदै मकरीगाडसम्म सवारीसाधनमा यात्रा गरेपछि करिब दुई दिन पैदल हिँड्नुपर्छ। आधार शिविर क्षेत्रमा कालीढुङ्गा, बयेली ताल, मार्कण्डेय गुफा र चमेलिया नदीको उद्गमस्थललगायत आकर्षक स्थल छन्।
अपी हिमाल गाउँपालिकाले चालु आर्थिक वर्षमा आधार शिविर क्षेत्रमा १० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। पर्यटकको सुविधाका लागि पदमार्गमा विभिन्न स्थानमा होमस्टे सञ्चालन गरिएको छ भने आधार शिविरमा दैनिक ७० जनालाई सेवा दिन सक्ने होटल तथा टेन्टको व्यवस्था गरिएको छ।
गाउँपालिकाले स्थानीयलाई पर्यटनसम्बन्धी तालिम दिएर होमस्टे, पदयात्रा गाइड, भरिया, यातायात तथा खाद्य सेवामा सहभागी गराउने तयारी गरेको छ। तर, सञ्चार नेटवर्क र इन्टरनेट सेवा विस्तारलाई अझै चुनौतीका रूपमा लिइएको छ। यसैबीच, जलवायु परिवर्तनका कारण हिमालको हिउँ तीव्र रूपमा पग्लिने, पानीका मुहान सुक्ने र वर्षा चक्रमा परिवर्तन आउने समस्या देखिन थालेको छ। यसको असर स्थानीय कृषि, पशुपालन र जडीबुटी सङ्कलनमा समेत पर्न थालेको विज्ञहरूले बताएका छन्।
जलवायु संकट र हिमाली क्षेत्रको संरक्षणलाई ध्यानमा राख्दै अपी हिमाल पर्यटन उत्सव तथा जलवायु संवादका क्रममा १७ बुँदे अपी हिमाल घोषणापत्र २०८३ जारी गरिएको छ। घोषणापत्रमा जैविक विविधता संरक्षण, प्राकृतिक स्रोतको दिगो उपयोग, जलवायु अनुकूलन, वातावरणमैत्री पर्यटन र स्थानीय संस्कृतिको प्रवर्द्धनमा जोड दिइएको छ। त्यस्तै, हिमनदी तथा ताल संरक्षण, पानीका मुहान पुनर्जीवन, फोहोर व्यवस्थापन र स्थानीय समुदायको जीविकोपार्जन सुधारलाई प्राथमिकतामा राखिएको छ।
पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले उच्च हिमाली क्षेत्रमा क्रिकेट र भलिबल प्रतियोगितासमेत आयोजना गरेको छ। प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र खेलकुदलाई पर्यटनसँग जोडेर अपी हिमाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने गाउँपालिकाको लक्ष्य छ। प्रकृति र संस्कृति संरक्षणसँगै स्थानीयको आयआर्जन बढाउने तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने प्रयासलाई एकसाथ अघि बढाउन सके अपी हिमाल क्षेत्र पर्यटनको नयाँ आकर्षण बन्न सक्ने अपेक्षा गरिएको छ।

