बेनीमा डेढ महिनापछि खानेपानी आपूर्ति, अझै मागभन्दा कम
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारमा डेढ महिनापछि डाँडाखर्क र रिठाखर्कका मुहानबाट खानेपानी आपूर्ति सुरु भएको छ । बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले मुख्य पाइपलाइन मर्मत तथा वैकल्पिक पाइपलाइन निर्माण गरी कात्तिक २७ गतेदेखि पानी वितरण थालेको हो ।
संस्थाका अध्यक्ष रमेश गिरीका अनुसार डेढ महिनाको प्रयासपछि प्रतिसेकेन्ड आठ लिटरका दरले पानी आपूर्ति हुन थालेको छ । राहुपारे–गलेश्वर र डल्लेपिपल–बेनी खण्डमा अस्थायी तथा वैकल्पिक पाइपलाइन निर्माण गरिएको उहाँले बताउनुभयो । खोरिया र खरेनी क्षेत्रमा पहिरो गएपछि पाइपलाइनको मार्ग परिवर्तन गरी डल्लेपिपल, कालीपुल, बेनी चक्रपथ र दरवाङ बसपार्क क्षेत्रमा करिब तीन किलोमिटर नयाँ पाइपलाइन विस्तार गरिएको छ ।
विपद्पछि कोप्रे, अम्रेनी र राहुवडाका वैकल्पिक मुहानबाट पानी ल्याएर आलोपालो वितरण गरिएको थियो । तर, तीमध्ये अम्रेनी र वडाका वैकल्पिक मुहान सुकेपछि रिठाखर्क र डाँडाखर्ककै मुहानबाट पानी ल्याउने व्यवस्था मिलाइएको हो । संस्थाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार बेनी बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्छ । तर, अहिले आठ लिटर मात्रै आपूर्ति भइरहेकाले मागअनुसार पानी वितरण गर्न समस्या भएको छ ।
संस्थामार्फत बेनी नगरपालिकाका वडा नम्बर २, ७ र ८ का एक हजार दुई सय घरधुरीमा बसोबास गर्ने करिब २५ हजार नागरिकलाई खानेपानी वितरण हुँदै आएको छ । पर्याप्त पानी नहुँदा टोल विभाजन गरी आलोपालो प्रणालीबाट वितरण गरिएको संस्थाले जनाएको छ ।
यसैबीच, बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तत्कालीन योजनाका लागि १४ करोड ७० लाख रुपैयाँ र दीर्घकालीन योजनाका लागि ७० करोड रुपैयाँ आवश्यक पर्ने अनुमानसहित खानेपानी तथा ढल व्यवस्थापन विभागमा प्रस्ताव पेस गरिएको संस्थाका सचिव केशवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

