चाडपर्वमा देशभर सुरक्षा कडा, साइबर अपराधको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ। चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, जुवातास, लागुऔषध तथा मादक पदार्थको दुरुपयोग, कालोबजारी र झैझगडा नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बजार, धार्मिकस्थल, सार्वजनिक यातायात केन्द्र, सीमा नाका तथा बढी भीडभाड हुने क्षेत्रमा प्रहरी परिचालन र निगरानी बढाइएको छ। सुरक्षा निगरानीका लागि सीसीटीभी, ड्रोन, शरीरमा जडित क्यामेरा र तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिनेछ। यस्तै, यात्रुको चापलाई ध्यानमा राख्दै देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी एक हजार १६५ भन्दा बढी प्रहरी परिचालन गरिएको छ। अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा पनि सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

लामो दूरीका सवारीसाधनका चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागुऔषध सेवन र सवारीसाधनको अवस्थासमेत जाँच गरिनेछ। यसैबीच, सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको तथा अश्लील तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोले इलामका विकल्प राई र सिन्धुपाल्चोकका सुजन पाण्डेलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार राईले टेलिग्राममार्फत महिलाका तस्बिर तथा भिडियो सार्वजनिक गरेको र पाण्डेले सामाजिक सञ्जाल एक्समार्फत अश्लील तस्बिर तथा भिडियो सार्वजनिक गर्ने धम्की दिएको आरोप छ। राईलाई ठमेल र पाण्डेलाई तारकेश्वरबाट पक्राउ गरिएको हो। उनीहरूमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

Facebook Comments Box