आज नवरात्रको पाँचौँ दिन, देवी स्कन्दमाताको पूजा–आराधना गरिँदै
काठमाडौँ । बडादसैँअन्तर्गत शारदीय नवरात्रको पाँचौँ दिन आज देवी स्कन्दमाताको विधिपूर्वक पूजा–आराधना गरिँदै छ। आश्विन शुक्ल पञ्चमीका अवसरमा नवदुर्गाका पाँचौँ स्वरूप स्कन्दमाताको पूजा गरिन्छ। धार्मिक मान्यताअनुसार देवी स्कन्दमाताले संसारका सम्पूर्ण जीवमा नवचेतना प्रदान गर्नुहुन्छ।
कमलको फूलमा विराजमान रहने भएकाले स्कन्दमातालाई पद्मासना देवीका नामले समेत चिनिन्छ। सेतो वर्ण र सिंह वाहन भएकी देवीका चार हातमध्ये दुई हातमा कमलको फूल रहेको छ भने अर्को हातले पुत्र स्कन्दकुमार अर्थात् कार्तिकेयलाई सम्हालेको र एक हात वरमुद्रामा रहेको धार्मिक ग्रन्थमा उल्लेख छ। स्कन्दमाताको पूजा गर्दा भगवान् कार्तिकेयको समेत उपासना हुने विश्वास गरिन्छ।
पौराणिक कथाअनुसार तारकासुरको आतंकबाट देवताहरूलाई मुक्त गराउन भगवान् शिव र पार्वतीका पुत्र कार्तिकेयको जन्म भएको थियो। पछि कार्तिकेयले तारकासुरको वध गरी देवताहरूलाई मुक्ति दिलाएको धार्मिक ग्रन्थमा उल्लेख छ। देवी भागवत पुराणअनुसार स्कन्दमाता सूर्यमण्डलकी अधिष्ठात्री देवी हुनुहुन्छ। उहाँको श्रद्धापूर्वक पूजा–आराधना गर्नाले भक्तजनले अलौकिक तेज, कान्ति र मानसिक शान्ति प्राप्त गर्ने विश्वास गरिन्छ।
साथै, मनोकामना पूरा हुने, पारिवारिक सद्भाव कायम हुने र जीवनका चुनौती सामना गर्ने आत्मबल प्राप्त हुने धार्मिक मान्यता छ। यस दिन भक्तजनले स्नान गरी शुद्ध वस्त्र धारण गरेर देवीको प्रतिमा वा कलश स्थापना गरी पूजा गर्ने परम्परा छ। पूजामा फूल, चन्दन, धूप, दीप, अक्षता, नैवेद्य र फलफूल अर्पण गरिन्छ। त्यसपछि स्तोत्र पाठ र आरती गरी प्रसाद ग्रहण तथा वितरण गर्ने चलन छ। नवरात्रका नौ दिनसम्म दुर्गा भवानीका नौ स्वरूपको पूजा–आराधना गर्ने परम्पराअनुसार आज स्कन्दमाताको उपासना गरिँदै छ।

