युरोपका २१ विमान र विमानस्थलमा बम विस्फोटको धम्की
युरोप – युरोपका विभिन्न देशका विमान र विमानस्थललाई लक्षित गरी बम विस्फोटको धम्की आउन थालेपछि हवाई सुरक्षा चुनौती बढेको छ। बीबीसीका अनुसार बिहीबार मात्रै कम्तीमा २१ वटा विमान तथा विभिन्न विमानस्थलमा बम राखिएको भन्दै धम्की दिइएको थियो। धम्कीपछि कैयौँ विमानको उडान मार्ग परिवर्तन गरिएको थियो भने इटालीमा एउटा विमानको सुरक्षाका लागि लडाकु विमानसमेत परिचालन गरिएको थियो। तर सबै धम्की झुटा साबित भएका छन्।
लगातार भइरहेका यस्ता घटनामा रुसको संलग्नता हुन सक्ने आशंका गरिए पनि त्यसको पुष्टि गर्ने ठोस प्रमाण फेला परेको छैन। यसअघि पनि युरोपका विभिन्न संवेदनशील पूर्वाधारमा साइबर आक्रमण, शंकास्पद ड्रोन गतिविधि तथा ह्याकिङका घटना सार्वजनिक भएका थिए। यस्ता गतिविधिलाई प्रत्यक्ष युद्ध नगरी अर्को देशको पूर्वाधार र समाजमा क्षति पुर्याउने ‘मिश्रित युद्ध’ रणनीतिका रूपमा विश्लेषण गरिएको छ।
यसैबीच, रोमका विमानस्थल अधिकारीहरूलाई पठाइएको एउटा इमेलमा रुसको अतिवादी समूह ‘मेल लिजन’ को नाम उल्लेख गरिएको थियो। तर उक्त इमेल सोही समूहले पठाएको हो वा कसैले नाम दुरुपयोग गरेको हो भन्ने खुलेको छैन। युरोपका सुरक्षा निकायले धम्कीको स्रोत पहिचान गर्न र सम्भावित जोखिम न्यूनीकरण गर्न अनुसन्धान अघि बढाएका छन्।

