दाङमा अण्डा उत्पादन बढ्दै, दैनिक दुई हजार ५०० कार्टुनभन्दा बढी उत्पादन
दाङ । दाङमा पछिल्लो समय अण्डा उत्पादन बढ्दै गएको छ। किसान सङ्गठित भएर बजारीकरणमा जुटेपछि जिल्लामा दैनिक दुई हजार ५०० कार्टुनभन्दा बढी अण्डा उत्पादन हुन थालेको हो। कुनै समय दाङमा दैनिक पाँचदेखि छ हजार कार्टुनसम्म अण्डा उत्पादन हुने गरेको थियो। तर उचित बजार व्यवस्थापनको अभावमा उत्पादन घटेर दैनिक एक हजार कार्टुनमा सीमित भएको थियो।
अहिले किसानहरू सङ्गठित भई उत्पादनको बजारीकरण गर्न थालेपछि अण्डा उत्पादन पुनः बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष ईश्वरप्रकाश श्रेष्ठका अनुसार किसान सङ्गठित भएपछि उत्पादनले बजार पाउन थालेको छ। जिल्लामा हाल नौ लाखभन्दा बढी लेयर्स कुखुरा रहेका छन्। सङ्घमा एक सय ५० भन्दा बढी किसान आबद्ध छन् भने हरेक वर्ष ४५ जनाभन्दा बढी नयाँ किसान थपिने गरेका छन्।
दाङमा उत्पादन हुने अण्डामध्ये २० प्रतिशत अर्थात् दैनिक करिब पाँच सय कार्टुन जिल्लामै खपत हुने गरेको छ। बाँकी ८० प्रतिशत अर्थात् दुई हजार कार्टुन अण्डा जिल्ला बाहिरका बजारमा पठाउने गरिएको छ। एउटा कार्टुनमा दुई सय १० वटा अण्डा हुन्छन्। अण्डाको बजारीकरणलाई व्यवस्थित बनाउन नेपाल लेयर्स कुखुरापालक सङ्घ र नेपाल एग ट्रेडिङ प्रालिको सहकार्यमा तुलसीपुरमा डिपो सञ्चालन गरिएको छ। जिल्लामा खपत हुन नसकेको अण्डा उक्त डिपोमार्फत देशका विभिन्न बजारमा पठाउने व्यवस्था मिलाइएको छ।
सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोख्रेलका अनुसार एउटा अण्डाको उत्पादन लागत १९ रुपैयाँ १२ पैसा पर्ने भए पनि किसानले लागतभन्दा कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था छ। यही समस्या समाधान गर्न एकद्वार प्रणालीबाट बजारीकरण गर्ने उद्देश्यले डिपो सञ्चालन गरिएको हो। किसानको सङ्गठित प्रयास र बजार व्यवस्थापनमा सुधार आएसँगै दाङको अण्डा उत्पादन व्यवसाय पुनः विस्तार हुँदै गएको छ।

