डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, चार जनाको खोजी जारी
डोल्पा । जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका थप दुई जना कैदी पक्राउ परेका छन्। कात्तिक १४ गते बिहान ६ बजे कारागारबाट फरार भएका कैदीहरूको खोजी गर्ने क्रममा उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ गाउँमा एक स्थानीयको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कपिल परियार रहेका छन्। रोकाय जबरजस्ती करणीसम्बन्धी कसुरमा ८ वर्ष कैद सजाय तोकिएका कैदी हुन् भने परियार नकबजनी चोरीसम्बन्धी कसुरमा ३ वर्ष कैद सजाय पाएका व्यक्ति हुन्।
यसअघि हिजो पनि फरार भएका दुई कैदी पक्राउ परेका थिए। पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका थिए। कारागारबाट फरार भएका अन्य चार जना कैदीबन्दीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

