सरकारको कार्यशैलीबारे छलफल गर्न कांग्रेसले बोलायो प्रतिपक्षी दलको बैठक
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो।
बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आमन्त्रण गरिएको छ। कांग्रेस संसदीय दलका नेता आङ्देम्बेका अनुसार बैठकमा सरकारको जवाफदेहिता, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिका, पत्रकार पक्राउ तथा सञ्चारमाध्यममा प्रहरी परिचालन गरिएको विषयमा छलफल हुनेछ।यस्तै, विभिन्न घटनाका छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र निष्पक्ष अनुसन्धान सुनिश्चित गर्नुपर्ने विषय पनि बैठकको एजेन्डामा रहेको उहाँले जानकारी दिनुभएको छ।
