डोल्पामा दुई महिलासहित ६ भारतीय पर्यटक हिमपातका कारण सम्पर्कविहीन
सुर्खेत । डोल्पाको शे–फोक्सुन्डो तालतर्फ आउँदै गरेका दुई महिलासहित छ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन भएका छन् । डोल्पोबुद्ध गाउँपालिकाको धो क्षेत्रबाट शे–फोक्सुन्डो तालतर्फ फर्किने क्रममा शे–फोक्सुन्डो गाउँपालिका–४ र ८ को बीचमा पर्ने नुमला पास र वागला पास क्षेत्रमा उनीहरू सम्पर्कविहीन भएका हुन् ।
बङ्गालको खाडीमा विकसित चक्रवात अर्नबको प्रभावले हिमाली क्षेत्रमा भारी हिमपात भएपछि पर्यटकहरू हिउँमा फसेको हुन सक्ने अनुमान गरिएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार स्थानीयवासीले हिमपातका कारण हिमाल पार गर्न कठिन हुने भन्दै सचेत गराउँदासमेत पर्यटकहरू उक्त क्षेत्रमा गएका थिए ।
सम्पर्कविहीन पर्यटकको खोजी तथा उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ । उद्धारका लागि नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी हमालले जानकारी दिनुभएको छ । शे–फोक्सुन्डो गाउँपालिकाका अध्यक्ष धावा सम्दुक गुरुङका अनुसार पर्यटकहरू सम्पर्कविहीन भएको क्षेत्रमा मोबाइल फोनको नेटवर्कसमेत उपलब्ध छैन । अत्यधिक हिमपात र प्रतिकूल मौसमका कारण खोजी तथा उद्धारमा कठिनाइ भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार हाल उपल्लो डोल्पामा २४४ जना पर्यटक रहेका छन् । तीमध्ये १४९ जना नेपाली, ४४ जना सार्क राष्ट्रका र ५१ जना अन्य विदेशी नागरिक छन् । प्रतिकूल मौसमलाई ध्यानमा राख्दै प्रशासनले पर्यटकलाई जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

