एनपीएलमा विराटनगरको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पाँच ओभरको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्सलाई ३५ रनले पराजित गरेको छ । विराटनगरको जितमा अलराउन्ड प्रदर्शन गरेका आन्द्रे रसेलले ब्याटिङमा अविजित २९ रन बनाउनुका साथै बलिङमा एक विकेट र फिल्डिङमा एक क्याच लिए ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा दुई विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो । सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले अविजित २८, आरिफ शेखले अविजित १७ र सैफ जैबले १७ रन बनाए । विराटनगरका रसेलले दुई ओभरमा आठ रन खर्चेर एक विकेट लिए भने एन्जेलो म्याथ्युजले पनि एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनाएको थियो । उसका लागि शेहान जयसूर्याले ११ बलमा ३९ रन बनाए । आन्द्रे रसेलले १० बलमा अविजित २९ तथा लोकेश बमले १० बलमा २५ रन जोडे । विराटनगरले पहिलो ओभरमै ३५ रन बनाउँदै आक्रामक सुरुवात गरेको थियो । जयसूर्याले सुदूरपश्चिमका श्रीलंकाली स्पिनर थरिन्दु रत्नायकेले गरेको पहिलो ओभरमा पाँच छक्का प्रहार गरेका थिए ।
जितसँगै तीन खेल खेलेको विराटनगरले पहिलो जित दर्ता गर्दै दुई अंक जोडेको छ । यसअघि वर्षाका कारण मैदान भिजेपछि खेल निर्धारित समयभन्दा करिब चार घण्टा ढिलो सुरु भएको थियो । साँझ पाँच बजेका लागि तय भएको खेल राति करिब नौ बजेमात्र सुरु भएको थियो । खेल सुरु हुनुअघि टसका विषयमा दुवै टोलीका कप्तान, व्यवस्थापन र खेल पदाधिकारीबीच लामो छलफल भएको थियो । सुदूरपश्चिमका खेलाडी तथा व्यवस्थापन टसका लागि ढिला तयार भएको विषयमा आधिकारिक कारण भने सार्वजनिक भएको छैन ।

