मोरङमा लागुऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरीले चलायो आठ राउन्ड गोली, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् भने तीन जना पक्राउ परेका छन् । मोरङ प्रहरीका अनुसार नेपाल–भारत सीमावर्ती क्षेत्र नजिकै रतुवामाई नगरपालिका–६ शनिश्चरेमा सोमबार राति करिब साढे ९ बजे प्रहरीले गोली चलाएको हो ।

लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुई वटा मोटरसाइकलमा सवार तीन जनालाई रोक्न खोज्दा उनीहरू भाग्न खोजेपछि गोली चलाइएको प्रहरीले जनाएको छ । गोली लागेर भारतको अररिया जिल्लाका २२ वर्षीय दीपककुमार बोसाक र ४० वर्षीय पुरन बोसाक घाइते भएका छन् । उनीहरूको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनीहरूसँगै रहेका रतुवामाई नगरपालिका–१ का ३५ वर्षीय प्रमोद ठाकुर पनि पक्राउ परेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्रहरीले चाइनिज पेस्तोलबाट पाँच र ब्रेडा पेस्तोलबाट तीन गरी आठ राउन्ड गोली चलाएको थियो । पक्राउ परेकाहरूको साथबाट करिब पाँच सय ग्राम खैरो हेरोइन, एक थान घरेलु पेस्तोल, त्यसमा लाग्ने एक राउन्ड गोली र मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । लामो समयदेखि उक्त समूह लागुऔषध कारोबारमा संलग्न रहेको प्रारम्भिक जानकारी प्राप्त भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box