निर्वाचनमा पराजित ब्राजिलका दक्षिणपन्थी नेता फ्लाभियो बोल्सोनारो अमेरिका पुगेको खबर

काठमाडौँ । ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजित दक्षिणपन्थी नेता फ्लाभियो बोल्सोनारो अमेरिका पुगेको समाचार सार्वजनिक भएको छ। समाचार संस्था रोयटर्सका अनुसार उनका सहयोगी तथा अमेरिकी सरकारी अधिकारीले मङ्गलबार उनी अमेरिका प्रस्थान गरेको पुष्टि गरेका छन्।

ब्राजिलको सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा फ्लाभियोलाई २४ घण्टाभित्र राहदानी प्रहरीसमक्ष बुझाउन आदेश दिएको थियो। निर्धारित समयभित्र राहदानी नबुझाएपछि ब्राजिलका अधिकारीले उनको राहदानी रद्द गरेका थिए। तर, उनी कुन मार्ग हुँदै अमेरिका पुगे भन्ने स्पष्ट भएको छैन।

फ्लाभियो, उनकी पत्नी र दुई छोरीलाई अमेरिका प्रवेशका लागि भिसा दिने तयारी भएको अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताएका छन्। परिवारनिकट स्रोतका अनुसार उनी अमेरिकाको फ्लोरिडा पुगेका छन्। यद्यपि, ब्राजिलको संघीय प्रहरीले उनी नियमित सीमा जाँच चौकीबाट बाहिरिएको अभिलेख नरहेको जनाएको छ।

ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियोमाथि अनलाइन सट्टेबाजीसँग सम्बन्धित कारोबार र फिल्म निर्माणका लागि रकम जुटाउने विषयमा अनुसन्धान भइरहेको छ। उनले आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन्। यसअघि फ्लाभियोले सामाजिक सञ्जालमार्फत देश छाड्ने आफ्नो योजना नरहेको र अनुसन्धानको सामना गर्ने बताएका थिए। उनी अर्जेन्टिनाको बाटो हुँदै अमेरिका गएको हुन सक्ने चर्चा भए पनि यसबारे आधिकारिक पुष्टि भएको छैन।

उनका पिता जायर बोल्सोनारो पनि सन् २०२२ को निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित भएपछि अमेरिका गएका थिए। पछि ब्राजिल फर्किएका जायरलाई निर्वाचनपछि सत्ता उल्ट्याउने षड्यन्त्र गरेको अभियोगमा २७ वर्षको जेल सजाय सुनाइएको थियो। उनी हाल घरमै नजरबन्दमा छन्।

फ्लाभियोको अमेरिका प्रस्थान र अमेरिकी प्रशासनले उनको परिवारलाई भिसा दिने तयारीले ब्राजिल र अमेरिकाबीचको सम्बन्धमा थप तनाव उत्पन्न हुन सक्ने आकलन गरिएको छ। रोयटर्सका अनुसार यो घटनाले ब्राजिलको राजनीतिक विवादलाई थप चर्काउन सक्ने देखिएको छ।

Facebook Comments Box