बाढीपहिरोले विभिन्न सडक अवरुद्ध, केही राजमार्गमा एकतर्फी यातायात

काठमाडौँ। वर्षासँगै आएको बाढीपहिरो र सडक कटानका कारण आज पनि देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। केही राजमार्गमा भने एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। गोरखाको आरुघाटमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सोतीस्थित फलामे पुलमा क्षति पुगेपछि गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडकसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यस्तै, आरुघाट–९ स्थित नयाँ पुल क्षेत्रमा बाढीका कारण सडक प्रभावित हुँदा साना सवारीसाधन एकतर्फी रूपमा सञ्चालन भइरहेका छन्। सुर्खेतमा पहिरोका कारण कर्णाली राजमार्गमा पनि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्। सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्नुपरेको छ। यसैगरी, गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा जिल्लाका विभिन्न सडकखण्ड अझै अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box