काठमाडौँ उपत्यकामा एकै दिन ४७० सवारीसाधन कारबाहीमा
काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ९९, तीव्र गतिमा चलाउने ११५ र सिसी क्यामराको निगरानीमा परेका ४० चालकलाई कारबाही गरिएको छ।
यस्तै, रातो बत्ती उल्लङ्घन गर्ने ३७, हर्न निषेधको नियम उल्लङ्घन गर्ने नौ, लेन अनुशासन पालना नगर्ने दुई र एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने सात चालक कारबाहीमा परेका छन्। अन्य कसुरमा १६१ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ। दसैँको समयमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउन प्रहरीले उपत्यकामा निगरानी र कारबाहीलाई तीव्र बनाएको छ।
Facebook Comments Box

