पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

ललितपुर । ललितपुरको पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा धार्मिक विधि र परम्पराअनुसार सम्पन्न भएको छ। दसैँको फूलपातीका दिन सुरु भएको जात्रा शनिबार त्रयोदशीका दिन सम्पन्न भएको हो। मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठका अनुसार फूलपातीका दिन भवानीलाई आगमघरबाट मूलचोकमा विराजमान गराएपछि जात्रा सुरु भएको थियो। त्रयोदशीका दिन भवानीलाई मूलचोकबाट मुछेँस्थित आगमघरमा पुनः विराजमान गराएसँगै जात्रा सम्पन्न भएको हो।

लिच्छविकालीन समयदेखि मानमानेश्वरी भवानीलाई शक्तिपीठ तथा राजकीय देवीका रूपमा पूजा गरिँदै आएको धार्मिक मान्यता छ। पाटन दरबार क्षेत्रसँग सम्बन्धित यस ऐतिहासिक जात्राको मुख्य आकर्षण देवगण तथा गुठियारले परम्परागत पहिरन र मुकुण्डो लगाएर हातमा खड्ग बोकी बाजागाजासहित नगर परिक्रमा गर्नु हो।

जात्राअन्तर्गत नवमीका दिन महालक्ष्मीस्थानबाट थसिमलः पायो जात्रा सञ्चालन गरिएको थियो। यस्तै, दसैँको दशमीका दिन साँझ मूलचोकबाट मंगलबजार चौबाटोमा श्री भवानी र श्री नवदुर्गाबीच धार्मिक विधिअनुसार मिलन गराइएको थियो। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पायो जात्रा ललितपुरको पहिचान र पुर्खाको सांस्कृतिक विरासत भएको बताउनुभयो।

उहाँले यस्ता ऐतिहासिक तथा पौराणिक जात्राको संरक्षण र निरन्तरताका लागि महानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पायो जात्राले ललितपुरको धार्मिक आस्था, गुठी परम्परा र सामुदायिक एकतालाई पुस्तौँदेखि जीवन्त राख्दै आएको छ।

Facebook Comments Box