आज नवरात्रको छैटौँ दिन, माता कात्यायनीको पूजाआराधना गरिँदै
काठमाडौँ । बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन माता कात्यायनीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। नवरात्रमा नवदुर्गाका नौ स्वरूपको पूजा गर्ने परम्पराअनुसार आज अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा माता कात्यायनीको पूजा गरिन्छ। धार्मिक विश्वासअनुसार कात्यायनी भगवतीको आराधना गर्दा रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई जीवनमा सुख, समृद्धि र प्रगति प्राप्त हुन्छ।
धार्मिक ग्रन्थहरूका अनुसार महर्षि कात्यायनले भगवती पराम्बालाई पुत्रीका रूपमा प्राप्त गर्न लामो समयसम्म तपस्या गरेका थिए। उनको तपस्याबाट प्रसन्न भएर देवी पुत्रीका रूपमा प्रकट भएकाले उनको नाम कात्यायनी रहन गएको पौराणिक मान्यता छ।
अर्को पौराणिक कथाअनुसार, महिषासुरको अत्याचारबाट त्रिलोकलाई मुक्त गराउन ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट देवी उत्पन्न भएकी थिइन्।
महर्षि कात्यायनले सर्वप्रथम उनको पूजा गरेका कारण पनि देवीको नाम कात्यायनी रहेको धार्मिक ग्रन्थमा उल्लेख छ। देवीले आश्विन शुक्ल दशमीका दिन महिषासुरको वध गरेको विश्वास गरिन्छ। कात्यायनी देवीलाई ब्रजमण्डलकी अधिष्ठात्री देवीका रूपमा समेत पूजा गरिन्छ। द्वापर युगमा भगवान् श्रीकृष्णलाई पतिका रूपमा प्राप्त गर्न ब्रजका गोपिनीहरूले यमुना नदीको किनारमा कात्यायनी देवीको आराधना गरेको पौराणिक मान्यता छ।
स्वर्णसमान चम्किलो वर्ण भएकी चार हातयुक्त देवी कात्यायनीको वाहन सिंह हो। उनका दाहिनेतर्फका हात अभय र वरमुद्रामा तथा देब्रे हातमा तरबार र कमलको फूल रहेको धार्मिक वर्णन पाइन्छ। नवरात्रको छैटौँ दिन श्रद्धापूर्वक देवीको पूजा गर्दा धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ। यस अवसरमा काठमाडौँ उपत्यकाका गुह्येश्वरी, दक्षिणकाली, मैतीदेवी, कालिकास्थान, तलेजु भवानी, भद्रकाली, नक्साल भगवतीलगायत देशभरका शक्तिपीठ तथा दसैँघरमा भक्तजनले पूजाआराधना गर्ने परम्परा छ।

