चार हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर इन्टरनेट
काठमाडौँ । नेपाल टेलिकमले वार्षिक चार हजार ९९९ रुपैयाँमा ३० एमबीपीएस गतिको फाइबर इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। कम्पनीले आजदेखि लागू हुने गरी सहुलियत दरका नयाँ इन्टरनेट प्याकेज सञ्चालनमा ल्याएको हो। निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले सस्तो दरका साना इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरिरहेका बेला नेपाल टेलिकमले भने सहुलियत दरमा नयाँ प्याकेज ल्याएको हो।
टेलिकमका अनुसार ‘फाइबर टु द होम’ अर्थात् एनटी फाइबर सेवाअन्तर्गत वाइफाई सिक्स प्रविधिमा आधारित नयाँ प्याकेज उपलब्ध हुनेछ। वार्षिक इन्टरनेट तथा टेलिफोन सेवासहित १०० एमबीपीएसको प्याकेजका लागि ११ हजार ४९९ रुपैयाँ, १५० एमबीपीएसका लागि १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसको प्याकेजका लागि १६ हजार ४९९ रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार वार्षिक प्याकेज लिने ग्राहकले दैनिक ८०० देखि एक हजार एमबीसम्म मोबाइल डाटा निःशुल्क प्राप्त गर्नेछन्। नयाँ प्याकेज जडान गर्ने ग्राहकलाई ५०० रुपैयाँ लाग्ने जडान शुल्कसमेत नलाग्ने टेलिकमले जनाएको छ। यी सबै प्याकेज आजदेखि लागू भएका छन्।

