गड्डाचौकी नाकामा भारतबाट फर्किने यात्रुको स्वास्थ्य परीक्षण
कञ्चनपुर । दसैँ–तिहार मनाउन भारतबाट घर फर्किने नेपालीको कञ्चनपुरस्थित गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ। सीमा नाकाबाट सङ्क्रामक रोग भित्रिन नदिन मलेरिया, क्षयरोग, एचआईभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण गर्ने व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।
कार्यालयका अनुसार असोज महिनामा मात्रै चार हजार सात सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणका क्रममा दुई जनामा क्षयरोगको सङ्क्रमण पुष्टि भएको छ। अन्यमा भने सङ्क्रमण देखिएको छैन। भारतबाट फर्किने यात्रुमा सङ्क्रमण देखिए निःशुल्क उपचारको व्यवस्था गरिने र आवश्यकताअनुसार सम्बन्धित जिल्लाका अस्पतालसँग समन्वय गरिने जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले जानकारी दिनुभयो।
प्रहरीका अनुसार अहिले गड्डाचौकी नाकाबाट दैनिक करिब दुई हजार जना नेपाल फर्किरहेका छन्। यात्रुको चाप बढेसँगै सुरक्षा निगरानी पनि बढाइएको छ। चाडपर्वका बेला यात्रुको सहजता र सुरक्षाका लागि गड्डाचौकी नाका, महेन्द्रनगर बसपार्कसहित जिल्लाका आठ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

