सर्लाहीमा हाइटेन्सन लाइनको पोलमा चढेकी किशोरीको पाँच घण्टापछि सकुशल उद्धार

काठमाडौँ । सर्लाहीको कविलासीमा १३२ केभी विद्युत् प्रवाह हुने हाइटेन्सन लाइनको पोलमा चढेकी किशोरीलाई सुरक्षाकर्मीले करिब पाँच घण्टापछि सकुशल उद्धार गरेका छन्। कविलासी नगरपालिका–२ की किशोरी बिहीबार दिउँसो साढे ४ बजेतिर गाउँनजिकै रहेको विद्युत् पोलको टुप्पोमा चढेकी थिइन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा राति करिब ९ बजे उनलाई सुरक्षित रूपमा तल झारिएको हो।

किशोरी विद्युत् पोलमा चढेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि नेपाल विद्युत् प्राधिकरणलाई जानकारी गराएर उक्त क्षेत्रमा विद्युत् प्रवाह बन्द गरिएको थियो। तलबाट अभिभावक र सुरक्षाकर्मीले बोलाउँदासमेत किशोरीले कुनै प्रतिक्रिया नजनाएपछि उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिएका छन्। अभिभावकका अनुसार किशोरी मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट पीडित छिन्।

Facebook Comments Box