आजको मौसम: हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
काठमाडौँ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बादल लागेको छ। लुम्बिनी प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशका हिमाली भूभागमा सामान्यतया बादल लाग्ने तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। दिउँसो हिमाली भूभागका थोरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा अन्य पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
यस्तै, आज राति हिमाली भूभागमा सामान्यतया बादल लाग्ने र पहाडी भूभागमा आंशिक बादल रहनेछ। तराईका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

