बलिउड अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ ।  बलिउडका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गोवास्थित आफ्नै निवासमा बिहीबार बिहान उनलाई हृदयाघात भएको थियो। उपचारका क्रममा चिकित्सकले करिब ४५ मिनेटसम्म सीपीआर अर्थात् मुटुको चाल फर्काउने प्रयास गरे पनि उनलाई बचाउन सकेनन्। चिकित्सकका अनुसार बिहान ५ बजेर २० मिनेटमा उनको निधन भएको हो।

उनको निधनलाई मेडिको–लिगल केसका रूपमा दर्ता गरिएको छ भने मृत्युको कारण थप पुष्टि गर्न पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको जनाइएको छ। नाना पाटेकरले हिन्दी र मराठी चलचित्रमा लामो समय अभिनय गरेका थिए। सन् १९८९ मा प्रदर्शन भएको ‘परिन्दा’का लागि उनले उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार पाएका थिए। त्यसपछि ‘क्रान्तिवीर’का लागि उत्कृष्ट अभिनेताको तथा ‘अग्निसाक्षी’का लागि उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका थिए।

उनले आफ्नो अभिनय यात्रामा तीनवटा राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए भने भारतीय चलचित्र क्षेत्रमा योगदानका लागि सन् २०१३ मा पद्मश्रीबाट सम्मानित भएका थिए। गम्भीर भूमिकासँगै हास्य भूमिकामा पनि लोकप्रिय नाना पाटेकर ‘वेलकम’मा निभाएको उदय शेट्टीको भूमिकाबाट नयाँ पुस्तामाझ समेत चर्चित बनेका थिए।

‘प्रहार : द फाइनल अट्याक’ चलचित्रका लागि उनले भारतीय सेनासँग सैन्य तालिमसमेत लिएका थिए। सन् १९९९ को कारगिल युद्धका क्रममा पनि उनले सैनिकहरूसँग समय बिताएर उनीहरूको हौसला बढाएका थिए। नाना पाटेकरको निधनसँगै भारतीय चलचित्र क्षेत्रमा शोक व्यक्त गरिएको छ।

Facebook Comments Box