आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ ।  ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी विश्व दृष्टि दिवस मनाइँदैछ। हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिन्छ। यस वर्षको नाराले व्यक्तिगत रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नुका साथै सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएको छ।

विद्यालय, कार्यस्थल तथा नीति निर्माण हुने स्थानमा नियमित आँखा परीक्षण र जनचेतनामूलक कार्यक्रम विस्तार गर्न पनि यस वर्ष जोड दिइएको छ। नेपालमा सन् १९८१ मा अन्धोपनको दर शून्य दशमलव ८४ प्रतिशत रहेकामा सन् २०२२ को र्यापिड एसेसमेन्ट अफ एभोइडेबल ब्लाइन्डनेस, आरएएबी सर्वेक्षणमा यो दर घटेर शून्य दशमलव २८ प्रतिशतमा पुगेको छ।

तर अन्धोपनको दर घट्दै गए पनि आँखासम्बन्धी अन्य समस्या चुनौतीका रूपमा रहेको नेत्रज्योति सङ्घले जनाएको छ। सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार ग्लुकोमा, आँखाको पर्दासम्बन्धी रोग, मधुमेहका कारण हुने दृष्टि समस्या, उमेरसँग सम्बन्धित आँखाका रोग तथा दृष्टिदोषका समस्या बढ्दै गएका छन्।

बढ्दो औसत आयु, नसर्ने रोगको भार, बदलिँदो जीवनशैली र डिजिटल उपकरणको बढ्दो प्रयोगले आँखाको स्वास्थ्यमा थप जोखिम निम्त्याइरहेको उहाँको भनाइ छ। नेपाल नेत्रज्योति सङ्घले हालसम्म पाँच करोड दुई लाख ४८९ जनालाई आँखा उपचार सेवा प्रदान गरिसकेको जनाएको छ। सङ्घका अनुसार ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिएको छ। सङ्घले हाल २८ वटा आँखा अस्पताल तथा ४४ जिल्ला शाखाअन्तर्गतका २२६ उपचार केन्द्रमार्फत नेपालीसहित विभिन्न देशका नागरिकलाई आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

Facebook Comments Box