जाजरकोट दरबारको एक भाग भत्कियो

सुर्खेत । जाजरकोट सदरमुकाम खलंगामा रहेको ऐतिहासिक जाजरकोट दरबारको एक भाग भत्किएको छ । लामो समयदेखि जीर्ण अवस्थामा रहेको दरबार २०७२ सालको भूकम्प र त्यसपछि २०८० कात्तिक १७ गतेको भूकम्पबाट थप क्षतिग्रस्त बनेको थियो । भूकम्पपछि संरचना कमजोर भए पनि समयमै संरक्षण तथा पुनर्निर्माणको काम अघि बढ्न नसक्दा दरबारको एक भाग भत्किएको हो ।

ऐतिहासिक अभिलेखअनुसार जाजरकोट दरबार तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा विसं १८५२ मा निर्माण भएको हो । विसं १९९० को भूकम्पबाट क्षति पुगेपछि दरबारको पुनर्निर्माण गरिएको थियो । स्थानीयका अनुसार वर्षात्, चिस्यान र नियमित संरक्षणको अभावका कारण दरबारको बाँकी संरचना पनि जोखिममा परेको छ । २०८० सालको भूकम्पपछि थप कमजोर बनेको संरचना संरक्षण हुन नसक्दा अहिलेको अवस्था आएको स्थानीयको भनाइ छ ।

दरबारको ऐतिहासिक संरचना संरक्षणका लागि पुरातत्त्व विभाग, स्थानीय तह तथा सम्बन्धित निकायले तत्काल चासो दिनुपर्ने स्थानीयले माग गरेका छन् । जाजरकोटको इतिहास, संस्कृति र पर्यटनसँग जोडिएको महत्वपूर्ण सम्पदा संरक्षण हुन नसके यसको मौलिक संरचना नै गुम्ने जोखिम रहेको स्थानीयको भनाइ छ ।

Facebook Comments Box