दसैँ–तिहार नजिकिएसँगै काठमाडौँबाट घर फर्किने यात्रुको चाप बढ्दै
काठमाडौँ। दसैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा आठ लाखभन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार उपत्यकाका प्रमुख बसपार्क तथा बाहिरिने नाकामा यात्रुको चहलपहल बढ्दै गएको छ।
विशेषगरी दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या क्रमशः बढिरहेको उहाँले बताउनुभयो। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौँलाका अनुसार चाडपर्वको मुख्य समय नजिकिँदै जाँदा सार्वजनिक सवारीसाधनमा यात्रुको चाप थप बढेको छ। यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकताअनुसार अतिरिक्त सवारीसाधन सञ्चालनको तयारी गरिएको उहाँले बताउनुभयो।
चाडपर्वमा यात्रुको अत्यधिक चाप हुने भएकाले टिकट बिक्री, सवारीसाधनको अवस्था, भाडादर र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले अनुगमन बढाएका छन्। यात्रुलाई तोकिएको भाडा तिर्न तथा आधिकारिक काउन्टरबाट मात्र टिकट लिन आग्रह गरिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले मुख्य सडक तथा उपत्यका बाहिरिने नाकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने जनाएको छ। सम्भावित भिड हुने स्थानमा आवश्यक जनशक्ति परिचालन गरी यात्रुको सहज आवागमन सुनिश्चित गर्ने तयारी गरिएको प्रवक्ता सुवेदीले बताउनुभयो।
दसैँ–तिहारका समयमा हुने सम्भावित ठगी, बढी भाडा असुली, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा असुरक्षित रूपमा सवारी सञ्चालन गर्ने गतिविधिमाथि निगरानी बढाइने भएको छ। यात्रुलाई अग्रिम रूपमा टिकटको व्यवस्था गर्न, सवारीसाधनको अवस्था बुझेर यात्रा गर्न र यात्राका क्रममा सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।

