सडक अवरुद्ध भएपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप
मुस्ताङ । बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको छ। यात्रुको चाप बढेसँगै निजी वायुसेवा कम्पनीले पोखराबाट हुने उडान दोब्बरभन्दा बढी गरेका छन्। असोज ८ देखि ११ गतेसम्म परेको भीषण वर्षाका कारण ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक अवरुद्ध भएपछि मुस्ताङ आवतजावतका लागि हवाई मार्ग एकमात्र विकल्प बनेको जोमसोम विमानस्थलका प्रमुख विश्वराज शर्माले बताउनुभयो। उहाँका अनुसार अहिले दैनिक सातवटा उडान हुँदै आएका छन्।
विगतमा सडक सञ्चालनमा हुँदा दैनिक बढीमा पाँच–पाँचवटा उडान हुने गरेकोमा अहिले तारा एयर र समिट एयरले दैनिक सात–सात उडान गरिरहेका छन्। खराब मौसमका कारण दृश्य क्षमता कम हुँदा असोजमा तीन दिन उडान भने स्थगित भएको थियो। सडक अवरुद्ध भएपछि यसपटक सोह्रश्राद्धमा पितृतर्पणका लागि मुस्ताङ आउने नेपालीले समेत हवाई मार्ग प्रयोग गरेका छन्। दैनिक दुई सयभन्दा बढी पर्यटक हवाई मार्गबाट मुस्ताङ पुग्ने गरेको विमानस्थलले जनाएको छ। यसअघि हवाई मार्गबाट मुख्यतः भारतीय तथा तेस्रो मुलुकका पर्यटक बढी आउने गरेका थिए।
मुक्तिनाथ मन्दिर दर्शनका लागि विभिन्न कम्पनीका हेलिकप्टर चार्टर गरेर तीर्थालु आउने क्रम पनि जारी छ। हवाई उडानले मुस्ताङ आवतजावतमा केही राहत दिए पनि पर्यटकीय चहलपहल भने अपेक्षाकृत बढ्न सकेको छैन। जोमसोममा ट्विनअटर विमानमार्फत यात्रु ओसारपसार हुँदै आएको छ। प्रतिकूल मौसम र हावाहुरीका कारण पोखरा–जोमसोम उडान सामान्यतया बिहान ११ बजेसम्म मात्र सञ्चालन हुने गरेको छ। एउटा ट्विनअटरमा एकपटकमा १८ जना यात्रु बोक्न सक्ने क्षमता रहेको छ।
बेनी–जोमसोम सडकबाहेक पोखरा जाने अर्को वैकल्पिक सडक नहुँदा सडक अवरुद्ध भएपछि हवाई मार्ग यात्रुको बाध्यता बनेको छ। छोटो समयका लागि मुस्ताङ भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकले पनि हवाई मार्ग रोज्ने गरेका छन्। निजी वायुसेवा कम्पनीसँगै नेपाली सेनाले सामग्री ढुवानी तथा चार्टर उडानसमेत गर्दै आएको छ।
धार्मिकस्थल भ्रमणका लागि हेलिकप्टरबाट आउने पर्यटकसँग सुरक्षा निकायका एक जना प्रतिनिधि अनिवार्य रूपमा रहने व्यवस्था रहेको छ। पोखरा–जोमसोम हवाई उडान बर्खा र जाडोयाममा बन्द हुने भएकाले वर्षमा करिब छ महिना मात्र यस हवाई मार्गमा नियमित उडान हुने गरेको छ।

