नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा आज बिहान पौने ४ बजे सडकबाट नालीमा खसेको प्रहरीले जनाएको छ।

बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएको र दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ। मृतकमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। अन्य पाँच जनाको परिचय खुल्न बाँकी रहेको छ।

घाइते हुनेमा गोरखाका हरिशरण थापा, अछामका तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाकी आकृति, सञ्जय थारु, लालबहादुर कार्की, बाजुराका पवन बुढा र प्रेम बम, ललितपुरका अनोज खत्री, बाँकेका अस्लाम भगवान र सल्यानका अनिल बुढाथोकी रहेका छन्। घटनालगत्तै प्रहरी निरीक्षक थमनसिंह रानाको कमान्डमा खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो। घाइतेहरूको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box