फुर्केखोलाको वैकल्पिक सडक आज पाँच घण्टा बन्द हुने
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज पाँच घण्टा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्डमा मर्मतसम्भार गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिनेछ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले वैकल्पिक सडकका विभिन्न स्थानमा मर्मत गर्नुपर्ने भएकाले उक्त अवधिमा सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिइन्। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि उक्त सडकखण्डलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ।
सडक बन्द रहने अवधिमा यात्रु तथा सवारीसाधनलाई धादिङबेँसी–सुनौलाबजार–भोर्ले–कोसीखोला–फोस्रेटार–कल्लेरीटार सडकखण्ड वा अन्य वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

