सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीश बासुदेव आचार्य, उमेश कोइराला र विदुर कोइरालाको इजलासले शुक्रबार पौडेललाई दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैद सजाय सुनाएको हो।
अदालतले पौडेललाई ४१ करोड ९४ लाख ७३ हजार २८२ रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ। साथै, सोही बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै उक्त सम्पत्ति जफत गर्ने फैसला पनि गरेको छ। अदालतका अनुसार पौडेलको वैधानिक आम्दानी ४ करोड १६ लाख रुपैयाँ रहेकोमा खर्च तथा लगानी ४६ करोड ११ लाख रुपैयाँ देखिएको थियो। आम्दानीभन्दा बढी देखिएको ४१ करोड ९४ लाख रुपैयाँ भ्रष्टाचारबाट आर्जन गरेको अदालतको ठहर छ।
यस्तै, विदेशमा परामर्श सेवा प्रदान गरी आर्जन गरेको भनिएको २ करोड ७७ लाख ७५ हजार ३८४ रुपैयाँलाई पनि अदालतले गैरकानुनी ठहर गरेको छ। उक्त अवधिमा पौडेल नेपालमा सरकारी सेवामा कार्यरत रहेको र आवश्यक अनुमति नलिई काम गरी आम्दानी गरेको देखिएकाले त्यसलाई वैध आय मान्न नसकिने विशेष अदालतले जनाएको छ।

