इरान आसपास अमेरिकी सैन्य उपस्थिति बढाइँदै
काठमाडौँ । अमेरिकाले इरान आसपासको क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाउने तयारी गरेको जनाएको छ । अल जजिराले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इरान नजिक तीनवटा विमानवाहक पोत र दुईवटा मरीन ल्यान्डिङ समूह तैनाथ गर्ने तयारी भइरहेको जनाएको हो ।
अधिकारीका अनुसार अमेरिकी नौसेनाको रुजवेल्ट स्ट्राइक ग्रुप र करिब दुई हजार अमेरिकी मरीन सैनिकसहितको मकिन आइल्यान्ड फोर्स स्यान डिएगोबाट प्रस्थान गरिसकेको छ । अमेरिकी सैन्य तैनाथीको पूर्ण विस्तार नोभेम्बरसम्म पूरा हुने बताइएको छ । यसैबीच, बेलायतको युके मेरिटाइम ट्रेड अपरेसन्सले होर्मुज जलडमरु हुँदै गइरहेको एक विशाल तेल ट्यांकरमा अज्ञात वस्तु प्रहार भएपछि आगलागी भएको जनाएको छ । उक्त सुपरट्यांकरमा २५ लाख ब्यारेलसम्म तेल बोक्न सक्ने क्षमता रहेको बताइएको छ ।
युके मेरिटाइम ट्रेड अपरेसन्सका अनुसार घटना होर्मुज जलडमरुको क्षेत्रमा भएको हो । ट्यांकरमा कसले र के प्रहार गरेको भन्नेबारे तत्काल पुष्टि हुन सकेको छैन । घटनापछि जहाजको अवस्था तथा सुरक्षासम्बन्धी थप विवरण सार्वजनिक हुन बाँकी रहेको छ । विश्वका प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक मानिने होर्मुज जलडमरुमा पछिल्ला वर्षहरूमा सैन्य तनाव तथा समुद्री सुरक्षासम्बन्धी घटना बढ्दै आएका छन् ।

