धरानको खसीबजारमा दसैँ नजिकिएसँगै कारोबार बढ्यो

धरान । दसैँ नजिकिएसँगै धरान कृषि उपज बजारको खसीबोकाको कारोबार बढ्न थालेको छ । कोशी प्रदेशकै व्यवस्थित खसीबजारका रूपमा रहेको बजारमा पहाडी तथा तराईका विभिन्न जिल्लाबाट खसीबोका खरिदबिक्रीका लागि किसान र व्यापारी आउने गरेका छन् ।धरान–१४ का दलबहादुर कथाय विगत १५ वर्षदेखि खसीबोकाको व्यापार गर्दै आएका छन् । उनले घरमै पालेका खसीबोकासँगै धनकुटा, पाँचथरलगायत पहाडी जिल्लाबाट खरिद गरेर ल्याइएका खसीबोका बिक्री गर्दै आएका छन् ।

मोरङको कानेपोखरीका व्यवसायी चन्द्र खड्का पनि विगत २३ वर्षदेखि खसीबोकाको कारोबारमा छन् । उनी हरेक साता धरान आएर एकपटकमा १०० देखि १५० वटासम्म खसीबोका खरिद गर्ने गर्छन् । धरानबाट खरिद गरिएका खसीबोका काठमाडौँ, जनकपुर, लहान, इटहरी, इनरुवा र पोखरालगायतका सहरमा बिक्री गर्ने गरेको उनले बताए ।

धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार सामान्य समयमा सातामा तीन हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेका छन् । दसैँ, तिहारलगायत चाडपर्वका बेला भने सातामा १० हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेको उनले जानकारी दिए ।

आर्थिक वर्ष २०८२/८३ मा बजारबाट एक लाख ६० हजार खसीबोका बिक्री हुँदा करिब तीन अर्ब रुपैयाँको कारोबार भएको समितिले जनाएको छ । गत वर्षको चाडपर्वमा मात्रै करिब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यस वर्ष कारोबार थप बढ्ने अनुमान गरिएको छ ।

अध्यक्ष भट्टराईका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्ष खसीबोकाको कारोबार करिब १५ प्रतिशतले वृद्धि भइसकेको छ । पहाडी जिल्लासँगै इटहरी, मोरङका कानेपोखरी र बेलबारीलगायत तराई क्षेत्रका किसान तथा व्यापारी पनि खसीबोका खरिदबिक्रीका लागि धरान आउने गरेका छन् । धरान कृषि उपज बजारले पहाडी जिल्लाका किसानलाई बजार उपलब्ध गराउनुका साथै स्थानीय व्यापार र रोजगारीमा समेत योगदान पुर्‍याउँदै आएको अध्यक्ष भट्टराईले बताए ।

Facebook Comments Box