चोरीका १४ हाते ट्याक्टरसहित पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हाते ट्याक्टर (पावर टिलर) चोरी तथा खरिद–बिक्रीमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरबाट चोरी भएका १४ थान हाते ट्याक्टर तथा बा ३१ प २१५९ नम्बरको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

स्वयम्भू क्षेत्रबाट हाते ट्याक्टर चोरी भएको सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा असोज ८ गते भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–५ का ४१ वर्षीय राजु मचामसी, २१ वर्षीय राजेश मचामसी र १९ वर्षीय राजन मचामसी रहेका छन् ।

यस्तै, रौतहटको परोहा नगरपालिका–५ घर भई भक्तपुरको बोडेमा कवाड सञ्चालन गर्दै आएका ३५ वर्षीय राजेश्वर जैसवाल र काभ्रेको पाँचखाल नगरपालिका–४ घर भई कवाड सञ्चालन गर्दै आएका ४८ वर्षीय विपिनकुमार शाही पनि पक्राउ परेका छन् । चोरीसम्बन्धी कसुरमा अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर प्रहरी वृत्त स्वयम्भूले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments Box