अठार दिनपछि कृष्णभिर हुँदै पृथ्वी राजमार्गमा यातायात सञ्चालन
धादिङ – बाढीले सडक भासिएपछि १८ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा आज बिहानदेखि यातायात सेवा पुनःसञ्चालनमा आएको छ । भदौ १४ गते त्रिशूली नदीको कटानले करिब एक सय मिटर सडक बगाएपछि कृष्णभिरमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक भासिएपछि भदौ १८ गतेदेखि नजिकैको डाँडा काटेर नयाँ ट्र्याक निर्माण सुरु गरिएको थियो ।
नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इञ्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्म नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भएपछि बिहीबार बिहानदेखि दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको हो । पूर्वाधार विकास मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सडक पुनःस्थापनाको काम अघि बढाएपछि छोटो समयमै यातायात सञ्चालन गर्न सम्भव भएको जनाइएको छ ।
सडकमा रोकिएका केही सवारीसाधनलाई दुई दिनअघिदेखि नै कटाइएको थियो भने आजदेखि नियमित आवागमन सुरु भएको हो । कृष्णभिरमा यातायात सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा पहिरो रोकथामका लागि आंशिक रूपमा रोकिएको यातायातसमेत आजदेखि सञ्चालनमा आएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभिरमा यातायात खुलेपछि तत्कालका लागि तुइनखोलामा भइरहेको काम रोकिएको जानकारी दिनुभयो । कृष्णभिरमा लामो समय सडक अवरुद्ध हुँदा ठूला सवारीसाधन काठमाडौँ आउजाउ गर्न नसक्दा राजधानीमा एलपी ग्यासलगायतका अत्यावश्यक वस्तुको आपूर्तिमा समेत असर परेको थियो । पृथ्वी राजमार्ग हुँदै दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।

