प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौँ –सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
यसैबीच, आजै सङ्घीय संसद्अन्तर्गतका तीन वटा संसदीय समितिको बैठक पनि बस्दैछ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

