आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ । महाशाखाका अनुसार अहिले मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभाग र लुम्बिनीको तराईमा आंशिक बदली रहेको छ । गण्डकी, बागमती र कोशीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका हिमाली भूभागका केही तथा कर्णालीको हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । पहाडी भूभागका केही र तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

कोशी प्रदेशको पहाडी तथा तराई भूभाग, बागमतीको तराई र गण्डकीको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति पनि देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकीका हिमाली भूभागका थोरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ ।

यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही तथा लुम्बिनीका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । मधेस तथा कोशीका तराई भूभागका केही र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका तराई भूभागका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

Facebook Comments Box