थारू बस्तीमा अट्वारीको रौनक, अग्रासन लिएर चेलीबेटी भेट्न जाने तयारी
दाङ । थारू बस्तीमा अट्वारी पर्वको रौनक छाएको छ । रोजगारी, व्यवसाय तथा अध्ययनका लागि सहर र जिल्ला बाहिर रहेका थारू समुदायका पुरुषहरू अट्वारी मनाउन घर फर्किएपछि गाउँघरमा चहलपहल बढेको हो । अन्य समयमा सुनसान देखिने गाउँका घरआँगन अहिले अट्वारीका लागि आवश्यक सामग्री जुटाउने र विभिन्न परिकार बनाउने तयारीले व्यस्त छन् । थारू समुदायले जन्माष्टमी अर्थात् अस्टिम्की पर्वपछि आउने दोस्रो आइतबार अट्वारी मनाउने परम्परा छ । सोहीअनुसार यस वर्ष भदौ २८ गते अट्वारी पर्व मनाइँदैछ ।
पुरुषहरूले विशेष रूपमा मनाउने अट्वारी वर्षमा एकपटक आउने भएकाले थारू समुदायमा यसको धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको छ । अट्वारीका दिन दिनभर व्रत बस्ने र साँझ भीमको नाममा पूजापाठ गर्ने प्रचलन छ । थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिका–१४ भोजपुर निवासी चूर्णबहादुर चौधरीका अनुसार अट्वारीको तयारी अघिल्लो दिनदेखि नै सुरु हुन्छ । अघिल्लो रात माछा, गङ्गटा, घोङ्घीलगायत परिकार पकाएर ‘भिन्सर्या’ अर्थात् दर खाने चलन रहेको उहाँले बताउनुभयो ।
“भिन्सर्या भाले बास्नुअघि नै खाइसक्नुपर्छ । भाले बासेपछि भिन्सर्या जुठो हुन्छ भन्ने मान्यता छ,” उहाँले भन्नुभयो । भिन्सर्या खाएपछि अट्वारीका दिन दिनभर व्रत बस्ने गरिन्छ । साँझ नुहाइधुवाइ गरेर गन्यारी काठबाट आगो निकाल्ने र गहुँ, चामल तथा अनदी चामललगायतका पिठोबाट पाँचदेखि सात प्रकारका रोटी पकाउने परम्परा छ ।
रोटी पकाइसकेपछि व्रत बसेका परिवारका सदस्य घरको ‘बह्री कोन्टी’ अर्थात् बैठक कोठामा भेला भएर भीमको नाममा पूजापाठ गर्छन् । पूजाअघि आफ्नो भागमा परेको रोटी, फलफूल र दहीमध्ये केही अंश दिदीबहिनीका नाममा छुट्याएर खाने चलन रहेको चौधरीले बताउनुभयो । अट्वारीका दिन रोटी र फलफूलबाहेक माछामासु नखाने परम्परा छ ।
अट्वारीको दोस्रो दिनलाई ‘फह्रार’ भनिन्छ । फह्रारका दिन बिहानै नुहाइधुवाइ गरी भात र तरकारी पकाइन्छ । तीनदेखि सात प्रकारका तरकारी पकाउने भए पनि मास र पवै सागलाई अनिवार्य मानिन्छ । सबै परिकार तयार भएपछि पुनः ‘बह्री कोन्टी’मा भीमको नाममा पूजापाठ गरिन्छ । त्यसपछि आफ्नो भागको भात–तरकारीबाट दिदीबहिनीका नाममा केही अंश छुट्याइन्छ । दिदीबहिनीका नाममा छुट्याइएको यही खानेकुरालाई थारू भाषामा ‘अग्रासन’ भनिन्छ ।
अग्रासन विवाहित चेलीबेटीलाई माइतीबाट लगेर दिने परम्परा छ । यसले अट्वारीलाई धार्मिक तथा सांस्कृतिक पर्वसँगै माइती–चेलीबीचको सम्बन्ध थप प्रगाढ बनाउने पर्वका रूपमा समेत स्थापित गरेको छ । मटाँवा बरघर महासंघ दाङका अध्यक्ष तथा घोराही उपमहानगरपालिका–१० जलौरा निवासी चन्द्रप्रसाद चौधरीका अनुसार अट्वारीमा भीमको पूजा गरेपछि उहाँजस्तै बलियो भइने जनविश्वास छ ।
यही विश्वासका कारण भीमको नाममा आगोमा अट्वारीका परिकार चढाउने तथा जल र मोहीले पूजापाठ गर्ने परम्परा अझै कायम रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार वर्षभरि भेटघाट हुन नसकेका दिदीबहिनीलाई माइतीबाट अग्रासन पुर्याउने चलनले अट्वारीको भावनात्मक पक्षलाई बलियो बनाएको छ ।
“अट्वारीमा चेलीबेटी माइतीको अग्रासनको पर्खाइमा बसेका हुन्छन् । दाजुभाइ अग्रासन लिएर घरमा पुग्दा चेलीबेटीको मनमा छुट्टै खुसी छाउँछ,” चन्द्रप्रसादले भन्नुभयो, “वर्षदिनसम्म भेट्न नपाएका दिदीबहिनीलाई भेट्न पाउँदा दाजुभाइ पनि उत्तिकै खुसी हुन्छन् ।”

