भोटेकोशी बाढीमा १ हजार ३ सय ८५ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ५ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ३ सय ८५ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार रसुवामा १ सय ८५, नुवाकोटमा १ सय ९९, धादिङमा ७०, चितवनमा ३ सय ६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३० र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव फेला परेको हो ।

फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २ सय ३० शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ८ सय ४६ गरी कुल ३ हजार १ सय ३२ वटा डीएनए नमुना सङ्कलन गरिएको छ । पहिचान हुन नसकेका १ हजार ३ सय ३९ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ । प्रहरीका अनुसार बाढीपछि बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य जारी छ । यस्तै, विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा २ हजार ७ सय १२ जनालाई राखिएको छ ।

Facebook Comments Box