आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ । हाल देशभर सामान्यतया बदली रहेको छ भने कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही तथा मधेस, बागमती र गण्डकीका तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । कोशी र बागमतीका हिमाली तथा पहाडी भूभाग, गण्डकी र कर्णालीका पहाडी भूभाग तथा लुम्बिनीको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । तराईका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुनसक्ने र कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

