भोटेकोशी बाढीमा एक हजार ३८३ शव फेला
काठमाडौँ, २६ भदौ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार बिहान ८ बजेसम्म एक हजार ३ सय ८३ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार रसुवामा १ सय ८५, नुवाकोटमा १ सय ९९, धादिङमा ७०, चितवनमा ३ सय ६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय २८ र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव फेला परेको हो ।
फेला परेका शवको पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ७ सय १५ गरी कुल ३ हजार १ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । हालसम्म १ हजार १ सय ६० शव आवश्यक प्रक्रिया पूरा गरी सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । पहिचान हुन बाँकी १ हजार ३ सय ३२ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९ सय ७५ प्रहरी परिचालन गरिएको छ । बेपत्ता ४ हजार ८९ जनाको खोजी भइरहेको छ । यस्तै, विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा ३ हजार १ सय ७६ जनालाई राखिएको प्रहरीले जनाएको छ ।

